काठमाण्डु, १५ असोज– प्रधानमन्त्री केपी ओलीले बाढीपहिरो गएको ठाउँमा आफं जान नसक्ने भन्दै गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा ओलीले नख्खु खोलाले बगाएर चार जनाको मृत्यु भएको र चाहे पनि उनीहरुलाई बचाउन नसकिएको भन्ने गृहमन्त्री लेखकको भनाइको प्रतिरक्षा गरे ।
प्रारम्भिक रुपमा प्राप्त सूचनाका आधारमा बोलिउको कुरालाई गृहमन्त्रीको अयोग्यता वा अपराधको रुपमा अर्थ लगाउन नमिल्ने तर्क उनको थियो ।
‘‘कहीँकही मौसमको कारणले हेलिकप्टर जान सकेन भन्ने कुरा, अब गृहमन्त्री मान्छे बगेको त्यहाँको रिपोर्ट आयो, आफै गएर त हेर्न सक्ने कुरा आएन, ओलीले भने, ‘मान्छे बगे, त्यहाँ टिप्न सकिएन, रेस्क्यु गर्न सकिएन, बगाएर लग्यो भन्ने भएपछि बचाउन सकिएन भनेर त्यहाँका मान्छेहरूले जे रिपोर्ट दिए गृहमन्त्री जीले त्यही भाषामा भन्नुभयो ।’
भारी वर्षासँगै नख्खु खोलामा आएको बाढीले शनिबार ज्यान बचाउन टहरोको छानामाथि चढेका चार जनालाई उद्धार ढिला हुँदा बगाएको थियो ।
सोही दिन गृह मन्त्रालयमा आयोजित विपद व्यवस्थापन समितिको बैठकपछि गृहमन्त्री लेखकले नख्खु खोलाले ४ जनालाई बगाएको र चाहेर पनि बचाउन नसकिएको भन्दै दुःख व्यक्त गरेका थिए ।
बगाएका मध्ये दुई जनालाई काभ्रे तिमालका युवा चणिकलाल तामाङले उद्धार गरे बचाए भने अर्का एक जना आफैं पौडिएर बाँच्न सफल भए । चार वर्षीया एक बालिकाको अवस्था भने अझै अज्ञात छ ।