काठमाण्डु, १५ असोज– प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघको ७९औं महासभाको दौरान हाल निस्क्रिय रहेको दक्षिण एसियाली सहयोग संगठन (सार्क) का विदेशमन्त्रीहरुको बैठक राख्न गरेको प्रयास भारतका कारण असफल भएको खुलासा भएको छ ।
ओली र आरजुले महासभामा सहभागी हुन गएका सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरुको बैठक न्यूयोर्कमा राख्न खोजेका थिए । त्यसका लागि आरजु सक्रिय भएकी थिइन् ।
उनले सो प्रस्ताव भारतीय विदेशमन्त्री एस जयशंकरसमक्ष राखेकी थिइन् ।
तर, आरजुको प्रस्ताव जयशंकरले सिधै अस्वीकार गरेको परराष्ट्र श्रोतले जनाएको छ ।
बैठक बस्न नसक्नुमा पाकिस्तान प्रमुख कारण रहेको भारतको भनाइ थियो । भारत र पाकिस्तानबीच पछिल्लो समय तिक्ततापूर्ण सम्बन्ध छ ।
पाकिस्तानले आतंकवादविरुद्ध कारबाही अघि नबढाएसम्म सार्कको गतिविधिमा भारत संलग्न हुन नसक्ने जवाफ दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नेपाल हाल सार्क राष्ट्रको अध्यक्ष छ ।