एक सांसद् जो बेलायत भ्रमण रद्ध गरेर पहिरो प्रभावितको उद्धारमा खटिए

काठमाण्डु टुडे २०८१ असोज १५ गते १९:५३ मा प्रकाशित

काठमाण्डु, १५ असोज– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा संयुक्त राज्य बेलायतको भ्रमण स्थगित गरेर अबिरल वर्षासँगको बाढीपहिरो प्रभावितको उद्धारमा खटिएका छन् ।

सापकोटासहित संघीय संसदको सर्वपक्षीय टोली १४ र १५ असोजमा इन्टरनेशनल ग्रोथ सेन्टरको संयोजनमा लण्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स र युनिभर्सिटी अफ अक्सफोर्डद्वारा आयोजित शोध तथा नीति सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ जाँदै थियो । सापकोटा ‘माओइस्ट रिभोल्युसन एण्ड प्रोभिजन फर जेण्डर इन्क्लुजन’ विषयमा वक्ता थिए ।

तर, बिहीबारदेखि भारी वर्षासँगै मुलुक बाढीपहिरोको चपेटामा परेका कारण आफूले भ्रमण रद्ध गरेको सापकोटाले बताए ।

‘बाढीपहिरोले मानिसहरु मरिरहेको र जनजीवन अस्तव्यस्त भएको अवस्थामा जहाज चढेर विदेश उड्न मन लागेन’, उनले भने, ‘बरु यस्तो बेला निर्वाचन क्षेत्र जानुपर्छ भन्ने लागेर उद्धार र राहतको काममा खटिएँ ।’

सापकोटा सिन्धुपाल्चोक–१ का निर्वाचित सांसद हुन् । सापकोटाले स्थानीय प्रशासन, प्रहरी, पार्टी पंक्ति र स्थानीयको परिचालनमार्फत अवरुद्ध अरनिको लोकमार्गमा मंगलबारदेखि यातायात सुचारु गराइएको बताए ।

‘पुलबाहेक दुःखजिलो गरेर अरनिको राजमार्गमा गाडी गुड्न सक्ने बनाएका छौं । मंगलबारबाट सडकको अवरुद्ध मुलतः खुलेको छ’, उनले भने । जिल्लाका अरु सहायक सडकमा पनि पहिरो पन्छाएर यातायात खुलाउने काम भइरहेको सापकोटाले बताए ।

यस्तै नेपाल टेलिकम र विद्युत प्राधिकरणका कार्यकारी निर्देशकहरुसँग समन्वय गरेर जिल्लामा अवरुद्ध टेलिफोन र विद्युत सेवा पनि सुचारु गरिएको जानकारी उनले दिए । सिन्धुपाल्चोकमा बाढीपहिरोमा परी दुई कोरियान नागरिकसहित १० जनाले ज्यान गुमाए । उनीहरुको शव निकाल्ने, पोष्टमार्टम गर्ने लगायत काममा सापकोटा आफैं सक्रिय भएर लागे ।

‘१० जनाको शव निकालेर पोष्टमार्टमपछि दाहसंस्कार गरियो । दुई कोरियन र नेपाली सेनाका कर्णेलको शव काठमाण्डु पठाइयो’, उनले भने ।

यस्तै सापकोटाले आफ्नै पहलमा जुगल हिमालबाट एक जनाको उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाएका छन् । हराएका दुई जना भने अझै भेटिएका छैनन् ।

को–को गए बेलायत ? 
एमाले सांसद योगेशकुमार भट्टराई र प्रमुख सचेतक महेश बर्तौला, काँग्रेस नेतृ महालक्ष्मी उपाध्याय (डिना), काँग्रेसका राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेल, काँग्रेस युवा नेता डा. जिेतेन्द्र उपाध्याय, जसपा केन्द्रीय सदस्य एवं विदेश विभाग प्रमुख अर्जुन थापा, उपराष्ट्रपतिका विदेश मामिला सल्लाहकार तथा जसपा विदेश विभाग सदस्य विनोदकुमार पौडेल बेलायत भ्रमणमा गएका छन् ।

चीन भ्रमणमा रहेका पूर्वमन्त्रीसमेत रहेका एमाले नेता भट्टराई उतैबाट अष्ट्रेलिया हुँदै बेलायत आएका छन् । बाँकी सबै नेपालबाटै गएका हुन् ।

टोलीमा रहेकी माओवादी नेतृ एवं पूर्वमन्त्री रेखा शर्माले भने पिताको निधनका कारण यसअघि नै भ्रमण स्थगन गरेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us