प्रधानमन्त्री ओलीको पत्रकार सम्मेलनः २१ जिल्लामा बाढी पहिरोबाट २२४ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १५ गते १६:५४ मा प्रकाशित

काठमाण्डु, १५ असोज– गएको असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट हालसम्म २२४ जनाको मृत्यु भएको छ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपतका घटनामा भएको धनजनको क्षतिबारे जानकारी दिएका हुन ।

पत्रकार सम्मेलनमा २१ जिल्ला प्रभावित भएको जानकारी दिँदै मुख्यसचिव अर्यालले अझै २४ जना बेपत्ता र १५८ घाइते रहेको उनले जानकारी दिए । त्यस्तै ४ हजार ३३१ जनाको उद्धार गरिएको सरकारले जनाएको छ । पत्रकार सम्मेलनमा भौतिक क्षतितर्फ खानेपानी ३ अर्ब ५५ करोड, सडकतर्फ २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब, र सिँचाइतर्फ १ अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको सरकारले जनाएको छ ।

बाढी पहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा सञ्चालन आइसकेको सरकारले जनाएको छ । त्यस्तै ३४ निर्माणाधीन जलविद्युत आयोजनाहरूमा क्षति पुगेको छ भने कृषितर्फ ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको सरकारले जनाएको छ ।

सरकारले विपद्पछि खोजीकार्यमा ३० हजार ७ सय सुरक्षाकर्मीसहित हेलिकोप्टर समेत प्रयोग गरिएको जनाइएको छ । त्यस्तै राहत तथा उद्धारलाई तीव्रता दिने तयारी भइरहेको तथा अवरुद्ध सडकहरु खुलाउने प्रयास भइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us