आफ्नो अयोग्यता छोप्न कर्मचारी र प्रहरीमाथि छानबिन गर्दै सरकार

काठमाण्डु टुडे २०८१ असोज १५ गते १५:४२ मा प्रकाशित

काठमाण्डु, १५ असोज– बाढीपहिरो र डुवानको विपत्तीमा आफ्नो उद्धार र राहतमा चुकेको सरकारले आफ्नो अयोग्यता ढाकछोप गर्न प्रहरी कर्मचारीमाथि कारबाहीको तयारी गरेको छ ।

भारी वर्षा र सम्भावित क्षतिबारे पूर्वसूचना भएर पनि तयारी नगरेको र विपद्पछि समेत समन्वयात्मक रुपमा सरकारी संयन्त्रको प्रभावकारी परिचालन गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला कर्मचारीलाई दोष देखाएर सरकार पन्छिन खोजेको हो ।

गत बिहीबारदेखि शुक्रबार भएको भारी वर्षातसँगै आएको बाढीपहिरो र डुवानका कारण २ सय १७ जनाको मृत्यु भएको तथ्यांक प्रहरी र सशस्त्र प्रहरीले सार्वजनिक गरेका छन् ।

बाढीले क्षति गर्दा ११ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ । क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी रहेको भए पनि अर्बौंको क्षति भएको प्रारम्भिक अनुमान छ ।

गृहमन्त्री रमेश लेखकले रातिको समयमा राजमार्गहरुमा गाडी चल्न रोक लगाउन निर्देशन दिइएको भए पनि कार्यान्वयन नभएकाले अनुसन्धान गरी कारबाहीको तयारी भइरहेको गृहमन्त्री रमेश लेखकले बताए । त्यसका लागि अहिले आन्तरिक छलफल भइरहेको उनको भनाइ थियो ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा गृहमन्त्री लेखकले पूर्वसूचना जारी गर्दा पनि रात्रिबसको काठमाण्डु प्रवेश किन रोकिएन भन्नेबारे आन्तरिक छानबिन भइरहेको जानकारी दिए ‘एडभाइजरी नोट जारी गरेका थियौं ।

तर त्यस्तो अवस्थामा पनि कसरी रात्रिबस चले भन्ने विषयमा छानबिन गरिरहेका छौँ’, उनले भने ।

बैठकमा सांसदहरुले मौसम पूर्वानुमानको सूचना पहिल्यै भएर पनि किन गाडीहरु रोकिएनन् भन्ने प्रश्न मन्त्री लेखकलाई गरेका थिए । नौबिसे–नागढुंगा सडकअन्तर्गत धादिङको झ्यात्ले खोलामा ४ वटा सवारी सधान पहिरोमा पुरिँदा ३५ जनाले ज्यान गुमाएका थिए ।

गृहले लापरबाही गरेके भन्दै गृहले यसअघि सोमबार विपद अतिप्रभावित काभ्रे र धादिङका प्रमुख जिल्ला अधिकारीलाई हटाएर मन्त्रालय तानेको थियो ।

काभ्रेमा सूर्यप्रसाद सेढाईं र धादिङमा राजेन्द्रदेव पाण्डे प्रमुख जिल्ला अधिकारी थिए ।

गृहले मन्त्रालयका सहसचिव उमेश ढकाललाई काभ्रे र मन्त्रालयमै रहेका अर्का सहसचिव सुमन घिमिरेलाई धादिङको प्रजिअ बनाएर पठाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us