‘सुगर ड्याडी’को बयान: ‘मलाई केटीको केस लगाएर फसाउँछु भनेपछि डामेको हुँ’

काठमाण्डु टुडे २०८१ असोज १५ गते १३:५८ मा प्रकाशित

काठमाण्डु, १५ असोज– युवा–युवतीलाई रडले डामेर यातना दिएको आरोपमा पक्राउ परेका ‘सुगर ड्याडी’ भनिने आशिष देउलाविरुद्ध काठमाण्डु जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा उनीविरुद्ध काठमाण्डु जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले जानकारी दिएको छ ।

३३ वर्षका देउलासहित ४ जना भदौ १८ मा पक्राउ परेका थिए । बा. ७ च ६४६१ नम्बरको पजेरोमा राखेर उनको समूहले भदौ ७ मा विशाल पोडेलाई टेकुस्थित दोभान पुलबाट लगनटोलस्थित सलबालमा लगेर यातना दिएको थियो । पानी तताउने विद्युतीय रड तताउँदै विशालको शरीरमा पोलेर करिब ३ घण्टासम्म बन्धक बनाएर उनीसहितका ४ जना मिलेर डामेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

तर, आशिष र उनको समूहका उदयपुर घर भएका २२ वर्षीय ओजस्वी तामाङलाई मात्र प्रतिवादी कायम गरेर मुद्दा दायर गरिएको छ । ५–६ महिना अघि चिनजान भएका विशालले आफूलाई ‘तँलाई केटीको केस लगाई फसाइदिन्छु’ भनेर धम्क्याएपछि बिजुलीबाट पानी तताउन मिल्ने इलेक्ट्रिक रडले उनलाई डामेर यातना दिएको आशिषले स्विकारेका छन् ।

बयानमा उनले भनेका छन्, ‘मेरो भतिज नाताको मानिसलाई किन खुकुरी हान्न खोजेको भनेर कुरा गर्ने क्रममा डामेको हुँ ।’ पीडितकै मामाको घरमा कपडा खोल्न लगाएर डामेको र ‘घर लगिदिन्छु’ भन्दा नमानेपछि छाडेर हिँडेको देउलाले आफेनो बयानमा बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us