प्रस्तावित प्रधान न्यायाधीश राउतविरुद्ध श्रीमतीसँगको झगडादेखि उठिबास लगाएकोसम्मका उजुरी

काठमाण्डु टुडे २०८१ असोज १५ गते १२:३९ मा प्रकाशित

काठमाण्डु, १५ असोज– सर्वेच्च अदालतको लागि प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी दर्ता भएका छन् । उनीविरुद्ध अमेरिकादेखि बाजुराका एक स्थानीयसम्मले उजुरी दर्ता गराएका संसदीय सुनुवाइ समिति स्रोतले जानकारी दिएको छ । समितिले राउतविरूद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो ।

अमेरिकाबाट राउतविरुद्ध नेपाली सेनाका अवकाश प्राप्त सेनानी प्रज्वल बस्नेतले सैनिक ऐनको गलत व्याख्या गरेको भनी उजुरी दर्ता गराएका छन् । बाजुराका गगन ऐडीले न्यायाधीश राउतले पक्षपातपूर्ण व्यवहारका साथै राजनीतिक आस्थाका आधारमा फैसला तथा आदेश दिने गरेको आरोप समेत लागेको छ ।

ऐडीले राउतसँग कार्यक्षमता अभाव भएको र प्रमाण मूल्याङ्कन गर्ने क्षमता नै नभएको दाबी गरेका छन् । राउत सम्मिलित इजलासबाट छोरा चेतनदास ऐडीको हत्यामा संलग्न नेपाली कांग्रेस निकटहरूलाई साधारण तारेखमा रिहा गरेको भन्दै उनले यस्तो आरोप लगाएका हुन् । कांग्रेस पृष्ठभूमि भएका न्यायाधीशहरू राउत र अब्दुल अजिज मुसलमानले पार्टीका वकिल र कार्यकर्ताको भनाइबाट प्रेरित भएर ज्यान मार्ने अभियोग लागेको व्यक्तिलाई धरौटी माग गरेको ऐडीको दाबी रहेको छ ।

२०७९ सालको निर्वाचनमा बाजुरामा उन छोराको हत्या भएको थियो । उक्त प्रकरणमा जिल्ला र उच्च अदालतले थुनामा पठाएका आरोपितलाई सर्वोच्चले धरौटीमा छोडेको थियो । अर्का एक उजुरीकर्ताले राउतको दाम्पत्य जीवन विवादित रहेको भन्दै उनलाई अनुमोदन गर्न नहुने मागसहित उजुरी दिएका छन् ।

प्रस्तावित प्रधान न्यायाधीशले हाइड्रो पावरमा लगानी गरेको, सांग्रिलामा पौडी खेल्ने र सर्वोच्चकै क्यान्टिन सञ्चालकको रेष्टुरेण्टमा मोजमस्ती गर्ने गरेको उजुरीमा उल्लेख गरीएको छ । राउतविरूद्ध चितवनकी शुभलक्ष्मी थपलियाले आफ्नो संवैधानिक हक नै मासेर उठिबास लाग्ने गरी त्रुटिपूर्ण फैसला गरेकाले प्रधान न्यायाधीशमा अनुमोदन गर्न नहुने मागसहित उजुरी दिएकी छन् ।

उनले राजमार्गमा परेका कारण आफ्नो ११ आना जग्गा गुमेको र बाँकी रहेको ३ आना जग्गा पनि राउतकै फैसलाले गुमाएको दाबी गरेकी छन् । अन्य दुई उजुरीकर्ताले भने प्रधान्यायाधीश राउतविरूद्ध व्यक्तिगतभन्दा पनि अदालत सुधारको विषयलाई उठाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us