काठमाण्डु, १५ असोज– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन लम्बिएको छ । १० असोज देखि सुरु भएको सम्मेलन हिजो १४ असोज सक्ने गरी कार्यतालिका रहेको थियो ।
निर्धारित समय अनुसार नयाँ कार्यसमितिको चयन हुन सकेको छैन । आइतबार वर्षातका कारणले बन्दसत्र रोकिएको थियो । सोमबार उमेर हद कायम गर्ने रनगर्ने र प्रतिनिधि विवादले कार्यतालिका कार्यान्वयन हुन नसकेपछि राष्ट्रिय सम्मेलन लम्बिएको हो ।
सात जिल्लामा रहेको प्रतिनिधि विवाद टुंग्याएर सोमबार अबेर उमेर हद कायम गर्नेरनगर्नेमा मतदान गर्ने तयारी थियो । प्रतिनिधि विवाद समाधान हुन नसकेपछि उमेर हदको टुंगो लाग्न सकेको छैन ।
विघटित केन्द्रीय समितिका उपाध्यक्ष क्षितिज सापकोटाका अनुसार सोमबार राति प्रतिनिधि विवाद टुंगिएको छ । निर्वाचन समितिलाई प्रतिनिधि यकिन गरेर हस्तान्तरण गरेपछि आज १२ बजेपछि उमेर हदमा मतदान हुने सापकोटाले जानकारी दिएका छन ।
उमेर हदको टुंगो आज लागेपछि बुधबार मात्रै नयाँ कमिटीका लागि मतदान हुने पनि उनले जानकारी दिएका छन ।