ललितपुरमा बाढीपहिरो: मृतकको संख्या ४० पुग्यो

काठमाण्डु टुडे २०८१ असोज १५ गते ११:०१ मा प्रकाशित

काठमाण्डु, १५ असोज– गएको असोज १२ गतेको बाढी–पहिरोको कारण ललितपुर जिल्लामा मृत्यु हुनेको संख्या ४० पुगेको छ । आज बिहान थप ६ जनाको शव फेला परेपछि मृतकको संख्या ४० पुगेको ललितपुर प्रहरीले जनाएको छ । मृतकमध्ये एकैपरिवारका चार सदस्यसमेत रहेको प्रहरीले जानकारी दिएको छ ।

ललितपुर प्रहरीका अनुसार माहाँकाल गाउँपालिका–२ ठोस्ने खोला ४० वर्षीया राममाया स्याङ्तान, उनका छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास र ९ वर्षीया छोरी सलिनाको मृत्यु भएको छ । माहांकाल गाउँपालिका वडा नम्बर २ लक्ष्यबासका ९ वर्षीय आयुष स्याङ्तानको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी माहाँकाल गाउँपालिका वडा नम्बर ३ गोटीखेल बस्ने ईश्वर तिमल्सिनाको पनि शव फेला परेको छ । उनी असोज १२ गतेदेखि बेपत्ता थिए । उनका आमा र श्रीमती सम्पर्कविहीन छन् । प्रहरीका अनुसार ललितपुर जिल्लामा अझै १० जना सम्पर्कविहीन छन् । यसअघि ७ जनामात्र सम्पर्कविहीन भएको भनिएकामा त्यसमा अरु ३ जना थपिएर बेपत्ताको संख्या १० पुगेको प्रहरीले जानकारी दिएको छ ।

बेपत्ताको सूचीमा थपिएकाहरुमा ललितपुरको माहाँकाल गाउँपालिका २ बस्ने १२ वर्षीया सन्जिता स्याङ्तान, ३५ वर्षीय छविलाल स्याङ्तान र वडा नम्बर २ कै छविलाल स्याङ्तानकी भाउजू छन् ।

ललितपुर प्रहरीका अनुसार बाढीपहिरोमा परी बेपत्ता हुने अन्यमा रौतहट घर भई ललितपुर महानगरपालिका १४ नखिपोस्थित कान्तिपुर कोलोनी बस्ने पाँच वर्षीय सेतु साह, रौतहटको गौर नगरपालिका ६ घर भई कान्तिपुर कोलोनीमै बस्ने ३२ वर्षीय बिकाउ साह, ओखलढुंगा घर भई ललितपुर बस्ने ४० वर्षीय देवराज कार्की र गोदावरी नगरपालिका ६ आनन्दवन अस्पतालमा काम गरी बस्ने ३० वर्षीय विवेक सिंह बेपत्ता छन् ।

यसैगरी बागमती गाउँपालिका १ घुसेलका ५० वर्षीय केशव न्यौपाने पनि बेपत्ता छन् । यसअघि उनलाई प्रहरीले मृतकको सूचीमा राखे पनि आफन्तले शव फेला नपरेको भनेपछि बेपत्ताको सूचीमा राखिएको हो । बाढी पहिरोमा परी तीन जना घाइते छन् ।

घाइतेहरुमा रौतहट घर भई ललितपुर महानगरपालिका १४ बस्ने ६ वर्षीया मेघना साह, गोदावरी नगरपालिका ७ बस्ने ३४ वर्षीया ठुलीमाया रुम्बा र काठमाडौं महानगरपालिका ३१ घर भई हाल ललितपुरको बागमती गाउँपालिका ४ प्युटार बस्ने ४५ वर्षीय भूषण अर्याल छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us