परासी, १५ असोज–पूर्वपश्चिम लोकमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएका कारण अवरुद्ध यातायात एकतर्फी खुलेको छ ।
पश्चिम नवलपरासीका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले मंगलबार बिहानदेखि सडक एकतर्फी सञ्चालनमा आएको जानकारी दिए ।
उनका अनुसार दुईवटा डोजरले रातभर अवरोध पन्छाएपछि बिहानदेखि सडक सुचारु भएको हो ।
बर्दघाट–४ दाउन्ने जंगलस्थित खुर्सानीखोलामा सडकमाथिको पर्खाल भत्किएर हाइटेन्सन लाइन ढल्दा ३ मिटर सडक भासिएको थियो । राजमार्गमा सवारी साधनको लामो लाइन छ ।
पहिलो चरणमा यात्रु बसलाई प्राथमिकतामा राखेर गन्तव्यतर्फ पठाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन् ।