काठमाण्डु, १५ असोज–त्रिपुरेश्वरस्थित विश्वनिकेतन मध्यामिक विद्यालयमा बाढीले ठूलो क्षति पु-याएको छ ।
गत बिहीबारदेखि शनिबार साँझसम्मको भारी वर्षासँगै आएको बागमती नदीको बाढी विद्यलयमा पसेको हो ।
बाढीका कारण भुइँतलामा रहेका फर्निचर र कम्प्युटर ल्याबका साथै महत्वपूर्ण कागजपत्र तथा शैक्षिक सामग्रीहरु नष्ट भएको विद्यालयका शिक्षक डिल्लीराम पौडेलले जानकारी दिए ।
उनका अनुसार डुबानमा परेर विद्यार्थी बोक्ने दुईवटा स्कुल बस बिग्रिएका छन् । दुवै बसको इन्जिनमा समस्या देखिएको छ ।
पौडेलका अनुसार ल्याबमा रहेका ३० थान ल्यापटप प्रयोग गर्नै नमिल्ने गरी बिग्रिएका छन् ।
सबै गरी एक करोडभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको विद्यालयले जनाएको छ ।
भुईं तलामा बाढी पसेका कारण नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।
सोही कारण दसैं बिदाअघि सुरु हुनुअघि नै ती विद्यार्थीलाई तिहारसम्मका लागि बिदा दिइएको छ ।