काठमाण्डु, १५ असोज– बाढीपहिरोका कारण क्षतग्रस्त पृथ्वी बिपी राजमार्ग दसैंअघि खुल्ने सम्भावना नरहेको सरकारले जनाएको छ ।
पूर्वक्षेत्र र मधेसलाई काठमाण्डुसँग जोड्ने सबैभन्दा छोटो नाका तत्काल नखुल्ने भएपछि दसैंका लागि घर जाने तयारीमा रहेका सर्वसाधारण मारमा पर्ने देखिएको छ ।
जसका कारण उपत्यकाको सप्लाई चेन नै अस्तव्यस्त हुने र कृत्रिम अभाव तथा कालोबजारीसमेत मौलाउने सम्भावना छ । बाढीले बिपी राजमार्गका विभिन्न ठाउँमा गरी दुई हजार किलोमिटरभन्दा धेरै सडक खण्डहर भएको सडक विभागले जनाएको छ ।
काभ्रेको रोशीदेखि नेपालथोकसम्मको ३० किलोमिटर सडक मर्मत मात्र नभई पुनःनिर्माण नै गर्नुपर्ने गरी भत्किएको विभागका अधिकारीहरु बताउँछन् ।
विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले बिपी राजमार्ग मर्मत गरेर मात्र गाडी चलाउन सम्भव नहुने बताए । उनले नयाँ ट्रयाक खोलेर सडक बनाउनुपर्ने देखिएको उल्लेख गरे ।
तर, उक्त कार्य तत्काल सम्भव नरहेको अर्यालले बताए । बर्दीबासदेखि नेपालथोकसम्मको सडकमा खासै समस्य नभए पनि रोशी–नेपालथोक खण्ड तत्काल सञ्चालनमा ल्याउन असम्भव रहेको उनले उल्लेख गरे ।
‘दसैंअघि रोशी–नेपालथोक खण्डमा गाडी चल्न सक्ने अवस्था छैन’, उनले भने, ‘पुरानो सडक मर्मत गर्ने सम्भावना नै छैन । नयाँ ट्र्याक खोल्नुपर्छ ।’
उनले तिहारसम्ममा भने नयाँ ट्रयाक खोल्ने सम्भावना रहेको औंल्याए ।