काठमाण्डु, १५ असोज– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज अपराह्नबाट फेरि वर्षात हुने सम्भावना रहेको जनाएको छ ।
पूर्वी नेपालतर्फबाट पानी पर्ने प्रणाली भित्रन लागेकाले असोज १८ अर्थात दसैंको घटस्थापनाका दिनसम्म वर्षात हुने विभागको प्रक्षेपण छ ।
विभागका अनुसार देशैभर मध्यम तथा हल्का वर्षातको सम्भावना छ । केही स्थानमा भने मेघ गर्जन र चट्याङसहित अतिभारी र भारी वर्षा हुने सम्भावना रहेको विभागको भनाइ छ ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण गत बिहीबारदेखि शनिबारसम्म अतिभारी वर्षा भएको थियो । वर्षातसँगैको बाढीपहिरो र डुबानले २ सय भन्दा बढीको ज्यान गएको छ । अबौंको भौतिक क्षति भएको छ ।