काठमाण्डु, १४ असोज– सरकारले निरन्तरको वर्षासँगै बाढीपहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई जनही दुई लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ ।
सोमबार साँझ अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।
सुरक्षा निकायले सोमबार साँझसम्ममा २ सय ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेका छन् ।
उनका अनुसार तत्काल राहत तथा उद्धारका लागि अर्थ मन्त्रालयले एक अर्ब उपलब्ध निकाशा गर्ने निर्णयसमेत भएको उनले बताए ।
राहत र उद्धारका लागि समन्वय गर्न सरकारले प्रदेश र स्थानीय तहलाई आह्वान पनि गरेको छ ।
बाढीपहिरोमा परी घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय बैठकले गरेको मन्त्री गुरुङले बताए ।