काठमाण्डु, १४ असोज– कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाढी पहिरोको विपत्तिबाट जनताले भोगेका समस्याको बारेमा ध्यानाकर्षण तयारी गरेको छ ।
आज (सोमबार) पार्टी महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा बसेको बाढी पीडित राहत तथा पुनर्स्थापना समितिको बैठकले उक्त निर्णय गरेको कांग्रेसका एक नेताले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओली नेपाल आइसकेको र समय लिएर पार्टीको तर्फबाट प्राकृतिक विपत्तिको बारेमा जानकारी गराउने निर्णय भएको बैठकमा सहभागी केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिएका छन ।
प्रधानमन्त्री ओलीलाई भेटेर के–के विषयमा ध्यानाकर्षण गराउने भन्ने विषयको प्रतिवेदन बनाउन बैठकले समिति गठन गरेको छ । स्थानीय तह समन्वय विभाग प्रमुख समेत रहेका आचार्यको नेतृत्वको समितिमा अर्का केन्द्रीय सदस्य डा। गोविन्द पोखरेल पनि रहेका छन् ।
यस्तै समितिमा विज्ञहरू मानबहादुर थापा‚ हरिदर्शन श्रेष्ठ तथा सिडेन अध्यक्ष लक्ष्मण केसी रहेका छन् । आचार्यका अनुसार तीन तहको सरकार मध्ये कुन सरकारले के गर्ने भन्ने विषय उल्लेख गरेर प्रतिवेदन तयार हुनेछ ।
साथै‚आचार्यले आफ्नो मातहतमा रहेको विभागले प्राकृतिक विपत्तिको यकिन क्षति पत्ता लगाउन वडा तहसम्म पुगेर प्रतिवेदन तयार गर्ने पनि जानकारी दिए ।