दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर

काठमाण्डु टुडे २०८१ असोज १४ गते १७:०२ मा प्रकाशित

काठमाण्डु, १४ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता भएको छ । प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा मुद्दा दर्ता गरीएको छ ।

प्रसाईंविरुद्ध साइबर सम्बन्धी दुईवटा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले जानकारी दिएका छन । प्रसाई असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका हुन् ।

प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल फरार छन् । युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ ।

अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका छन् । दुबईबाट प्रसाईले पहलमान थापालाई मृत्युदण्डको मुखबाट जोगाएर नेपाल फर्काएको दाबी गरेका थिए ।

सो दाबीलाई स्वतन्त्र पार्टीमा आबद्ध ती महिलाले ‘च्यालेन्ज’ गर्दै प्रसाईंले उद्धार गरेको कुरा झुटो भएको बताइन् ।

त्यसपछि प्रसार्इंले उनको विरुद्ध देश दुनियाँ खबरमा अन्तर्वार्ता दिँदै भनेका थिए, ‘जापानमा वेश्यावृत्ति गर्ने, केटालाई केटी मिलाइदिने, भँडुवाको काम गर्ने, दलालको काम गर्ने, हामीलाई थाहा छैन ? वेश्या, भँडुवा, पागलले हल्लाएर दुर्गा प्रसाई हल्लिँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us