काठमाण्डु, १४ असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किन लागेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द गरिएको छ । ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली महासभामा भाग लिन गत ४ असोजमा अमेरिकाको न्यूयोर्क गएका थिए ।
प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका थिए । अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकमा ओली सहभागी भए ।
भ्रमणका क्रममा ओलीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका सरकार प्रमुखसंग भेटेका थिए ।
ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल छन् ।