माओवादी केन्द्रद्वारा केन्द्रीय राहतकोष स्थापना, सांसदहरूले दश दिनको पारिश्रमिक दिने

काठमाण्डु टुडे २०८१ असोज १४ गते १५:१३ मा प्रकाशित

काठमाण्डु, १४ असोज– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बाढी पहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । नेकपा माओवादी केन्द्रको नाममा रहेको ग्लोबल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन ।

आइतबार बसेको कार्यालय पदाधिकारी बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले मातहतका कमिटीहरूलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको पनि ति नेताले जानकारी दिएका छन ।

सो केन्द्रीय राहतकोषमा संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरूले दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् भने स्थानीय तहका जनप्रतिनिधिहरूलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र गरेको छ ।

त्यस्तै पार्टीका प्रदेश समितिहरूले पनि राहत रकम संकलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विपद् व्यवस्थापन विभागले हेल्प डेस्क स्थापना गरेर दैनिक विपद्को स्थिति अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ ।

विपद्को सामना गर्न पार्टी पंक्ति, जबस र मोर्चाहरूलाई विपद् क्षेत्रमा स्वयंसेवक खटाउन, खोज, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पनि माओवादी केन्द्रले मातहतका कमिटीलाई परिपत्र गरिसकेको पनि माओवादी केन्द्रले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us