बाढी–पहिरोमा बेपत्ता भएकाका परिवारलाई मृतक सरह राहत

काठमाण्डु टुडे २०८१ असोज १४ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, १४ असोज– राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठकले बाढीपहिरो लगायतका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका परिवारलाई मृतक सरह राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

आज (सोमबार) बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो । आजको बैठकले वेपत्ता भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिलाई मृतक सरह मानेर परिवारका सदस्यलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले घरबास गुमाएकाहरुलाई अस्थायी आवास बनाउने नगद उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

त्यसका लागि सम्बन्धित स्थानीय तहले लाभग्राही पहिचान गरेपछि राहत रकम वितरण गरिने छ । अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड, २०८१ बमोजिम रकम उपलब्ध गराइने गृह मन्त्रालयका प्रवक्ता तिवारीले जानकारी दिएको छ ।

घरबास गुमाएकाहरुलाई तत्कालका लागि २५ हजार रुपैयाँ उपलब्ध गराइने छ । बैंक खाता भएकालाई बैंकमा जम्मा गरिदिने र बैंक खाता नभएकाले चेक पाउने छन् । चेक साट्न भने बैंकमै पुग्नुपर्ने उनले जानकारी दिएका छन ।

त्यसबाहेक जिल्ला प्रशासन कार्यालयले तत्कालका पाँच जनासम्मको परिवारलाई १५ हजार र पाँच भन्दा बढी सदस्य भएका परिवारलाई २० हजार रुपैयाँको दरले राहत रकम पनि उपलब्ध गराउने छ । समितिको बैठकले बाढी पहिरोमा परेरकाहरुको खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको छ । खोज, उद्धार, राहत वितरण र पुनर्स्थापनाको काम एकद्वार प्रणालीबाट हुने छ ।

बाढी पहिरोका कारण बीचबाटोमै अलपत्र परेकाहरुलाई छिटो उद्धार गरी गन्तव्यसम्म पुर्याउने जिम्मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us