बुधबारदेखि वर्षाको सम्भावना

काठमाण्डु टुडे २०८१ असोज १४ गते १३:२९ मा प्रकाशित

काठमाण्डु, १४ असोज– आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान गरीएको छ । बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलले बुधबारदेखि शनिबारसम्मै गण्डकीदेखि कोशी प्रदेशसम्म अपराह्नपख वर्षाको सम्भावना रहेको जानकारी दिएका छन ।

उनका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने वर्षाको खासै सम्भावना छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ ।

मनसुनी वायुको प्रभाव कायमै रहेका बेला बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुसमेत मिसिँदा असोज ११ र १२ गते भारी वर्षाले जनधनको ठूलो क्षति गरेको छ ।

अत्यधिक वर्षा गराउने बादल कोशी, बागमती र गण्डकी प्रदेशमा केन्द्रित थियो । हाल यो प्रणाली कमजोर हुँदै पूर्वतिर सरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us