काठमाण्डु, १३ असोज– वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा दिएकाहरूको स्वास्थ्य परीक्षण केही दिनको समय सरेको छ ।
धेरै वर्षासँगै आएको बाढी पहिरोका कारण आवातजावतमा समस्या आएपछि ईपीएस कोरिया शाखाले स्वास्थ्य परीक्षणको मिति सारेको हो ।
अब यातायातको सहज अवस्था भएपछि स्वास्थ्य परीक्षण गराउनुपर्ने कोरिया शाखाले जानकारी दिएको छ । ईपीएस भाषा परीक्षा मार्फत उत्पादनमूलक क्षेत्र तर्फको दोस्रो सिफ्टको कोरियन भाषा परीक्षा र स्किल टेस्टमा पास भएकालाई स्वास्थ्य परीक्षणका लागि असोज १४ गतेसम्मको समय दिइएको थियो ।
बाढी पहिरोका कारण स्वास्थ्य परीक्षण गराउन सहज अवस्था नभएपछि केहिदिन पर सारेको हो ।
अविरल वर्षाका कारण आएको बाढी, पहिरोले ठाउँ–ठाउँमा बाटो अवरुद्ध भई जनजीवन प्रभावित भएकाले तोकिएको समयमा स्वास्थ्य परीक्षण गर्न नसकेकालाई यातायातको सहज र सुरक्षित भएपछि स्वास्थ्य परीक्षण गराउँदा हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।
स्वास्थ्य परीक्षण कार्य सकिएपछि मात्रै सम्पूर्ण व्यक्तिहरूको जब एप्लिकेशन फार्म ईपीएस शाखाबाट एचआरडी कोरियाको सफ्टवेयरमा इन्ट्री गरी पठाउने शाखाले जानकारी दिएको छ ।