काठमाण्डु, १३ असोज– गृहमन्त्री रमेश लेखकले बिपद्बारे पूर्वसूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुगेको दाबी गरेका ।
आज (आइतबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले यस्तो बताएका हुन । उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भए पनि थप व्यवस्थित गर्न आवाश्यक रहेको पनि बताएका छन ।
उनले भने, ‘विपद न्यूनीकरण र विपद्को व्यवस्थापनमा दुईवटा चरण हुन्छ । एउटा विपद् पूर्वको सूचनाको विषय हो । पूर्वानुमान अनुसार सूचनाको सम्प्रेषण पनि भएको थियो । त्यो सूचनालाई आगामी दिनमा थप व्यवस्थित गर्न जरुरी छ,अर्को विपद्को प्रतिकार्यको विषय हो । त्यसका लागि पूर्व तयारी नभएको होइन ।
सरकारले पूर्व तयारी गरेकाले नै क्षतिलाई न्यूनीकरण गर्नका लागि सहयोग पुगेको छ । आगामी दिनमा यसलाई थप व्यवस्थित गरेर जान जरुरी छ ।’ गृहमन्त्री लेखकले सरकारले आज चारवटा कुरामा जोड दिएर जाने पनि बताएका छन । उनले भने, ‘पहिलो खोजी उद्धारको विषय हो ।
हामीले मानिसहरुको खोजी गर्नु छ । दुःख र पीडामा रहेका मान्छेलाई उद्धार गर्नु छ । सँगसँगै राहत पनि अगाडि बढाउनु छ । घाइतेहरूको उपचार गर्नु छ । राजमार्ग चाँडोभन्दा चाँडो खोल्नुपर्ने छ । सरकार तत्काल यी चार कुरामा ध्यान दिएर अगाडि बढ्छ ।’
बाढी र पहिरोबाट १४८ को मृत्यु, ५९ बेपत्ता र ६० जना घाइते रहेको गृहमन्त्री लेखकले बताए । ३ हजार ३ सय ३६ जनाको सकुशल उद्धार गरिएको उनको भनाइ छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले सक्दोसम्म उद्धार राहतमा काम गरिरहेको भन्दै सरकारका अन्य निकायले समन्वयात्मक रुपमा काम गरिरहेको उनले बताएका छन ।