काभ्रे तेमालमा पहिरोले पुरिएका घरबाट निकालियो ४ शव

काठमाण्डु टुडे २०८१ असोज १३ गते १६:१५ मा प्रकाशित

काठमाण्डु, १३ असोज– बाढी–पहिरोबाट ठूलो क्षति पुगेको काभ्रेपलाञ्चोकमा घाइते र राजमार्गमा अलपत्र परेकाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार कार्य जारी छ ।

नेपाली सेनाको हेलिकप्टर मार्फत बीपी राजमार्गको रोशी क्षेत्रमा अलपत्र परेकाको उद्धार भइरहेको प्रहरीले जानकारी दिएको छ । सेनाकै हेलिकप्टर मार्फत जिल्लाका भुम्लु गाउँपापालिका र चौरी देउराली गाउँपालिकाबाट दुई घाइतको उद्धार गरेर धुलीखेल ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिएका छन ।

जिल्लाको विपद् व्यवस्थापनमा सम्पूर्ण संयन्त्र परिचालन भएको र पहिलो प्राथमिकता अलपत्र परेर र बाढी तथा पहिरोमा परेर घाइते भएकाको उद्धारमा लागेको छ । सेनाको हेलिकप्टर तेमाल गाउँपालिकामा रहेका घाइतेको उद्धार गर्न जाने तयारीमा रहेको गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले जानकारी दिएक छन ।

तेमालमा पहिरोका कारण ठूलो क्षति भएको र दूरसञ्चार सेवा अवरुद्ध हुँदा क्षतिको विवरण आउन नसकेको पनि उनले जानकारी दिएका छन । उनले भने, ‘अहिलेसम्म घर पुरिँदा १२ जना बेपत्ता भएको जानकारी आएको छ, जसमध्ये चार जनाको शव निकालिएको छ ।

तीन जनाको घाइते अवस्थामा उद्धार भएको र धुलिखेलबाट सेनाको हेलिकप्टर मार्फत उद्धार गर्न लागिएको हो ।’केही व्यक्ति अझै सम्पर्कमा नभएको जानकारी आए पनि विद्युत् र फोन सम्पर्क समेत नहुँदा थप बुझ्न नसकिएको उनले जानकारी दिएका छन ।

पहिराले घरभित्रै पुरिएकाको दुई दिनदेखि उद्धार गर्न नसकिएको पनि उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us