चाणिकलाललाई सम्मान गर्दै प्रचण्डले भनेः माओवादी हुनुहुंदोरहेछ, धेरै खुसी लाग्यो

काठमाण्डु टुडे २०८१ असोज १३ गते १६:०४ मा प्रकाशित

काठमाण्डू, १३ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन् ।  आफ्नै निवास खुमलटारमा प्रचण्डले आइतबार चणिकलाललाई सम्मान गरेका हुन् ।
तामाङले शनिबार ललितपुर महानगरपालिका-२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरी ज्यान बचाएका थिए । टहराको छानामाथि चढेर गुमार मागिरहेका चार जनालाई सरकारी निकाय र स्थानीयले उद्धार  गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए ।
खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरे । उद्धार  गरिएका बाबुछोरीको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राजले आफैं पौडिएर ज्यान बचाएका थिए ।  राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात छ ।
‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै  प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिए । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उनले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताए । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै  प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताए ।
काभ्रेको तेमाल गाउँपालिका-९ चोकटार घर भएका तामाङ माओवादी शहीद परिवारका सदस्य हुन् ।
सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताए । आफू बिहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताए । उनले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us