काठमाण्डु, १३ असोज– बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको छ ।
हालसम्म काठमाण्डु उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेस प्रदेशमा २ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।
त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएको पनि गृहमन्त्रालयले जनाएको छ ।
भने सुरक्षाकर्मीको सक्रियताका कारण हालसम्म मुलुकभरबाट ३ हजार ६२६ जनाको सकुशल उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहानदेखि हालसम्म काभ्रेपलान्चोकका विभिन्न स्थानबाट बाढी, पहिरो तथा प्राकृतिक जोखिममा परेको १९३ जनाको सकुशल गरिएको छ ।
नेपाली सेनाको टोली बढी जोखिममा फसेका नागरिकहरूको उद्धारका लागि दुई दिनदेखि हवाई उद्धार गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।
विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक सुचारु गर्न सबै संयन्त्रहरू परिचालन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन ।
प्रभावित क्षेत्रमा नागरिकको उद्धार, राहत तथा घाइतेहरूको उपचारका लागि अस्पताल पुर्याउने लगायतका कार्यमा सुरक्षाकर्मीहरू सक्रिय भएर लागि परेको पनि उनले जानकारी दिए ।