काठमाण्डु, १३ असोज– गएको बिहिबारदेखि अविरल रुपमा परेको बर्षाको कारण बाढी पहिरो र डुबानमा परेका बागमती प्रदेशमा ४९ जनाको मृत्यु भएको छ । बाठमाण्डु उपत्यका बाहेकका जिल्लामा बाढी पहिरो र डुबानमा परेर ४९ को मृत्यु हुँदा ४० जना घाइते भएका छन् भने ३५ जना हराइरहेका बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्यांकअनुसार असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर धादिङ र काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति भएको बताइएको छ । बाढी पहिरोमा परेर धादिङमा १६ र काभ्रेमा १२ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले आफ्नो तथ्याङ्कमा उल्लेख गरेको छ ।
त्यस्तै बाढी पहिरोका कारण मकवानपुरमा ७, सिन्धुपाल्चोकमा ६, दोलखामा ३, सिन्धुलीमा २ जना, रामेछाप, चितवन र नुवाकोटमा १÷१ जनाको मृत्यु भएको छ । रसुवामा मानवीय क्षति भएको उक्त तथ्याङ्कमा उल्लेख गरएिको छ । बाढी पहिरोमा परेर सिन्धुपाल्चोकमा १६ जना घाइते हुँदा ६ जनाको अवस्था अज्ञात रहेको छ भने दोलखामा १ जना घाइते भएका छन् भने ४ जना बेपत्ता भएका छन् ।
काभ्रेमा घाइतेको सङ्ख्या १५ रहेको छ भने २३ जना बेपत्ता, नुवाकोटमा १ जना घाइते, धादिङमा घाइते ४ र २ जना बेपत्ता, मकवानपुरमा ३ जना घाइते भएका छन । बाढी पहिरोको जोखिममा रहेका प्रदेशका ३२ घरका २४१ जनालाई सुरक्षित स्थानान्तरण गरिएको छ । प्रहरीका अनुसार चितवनमा ३ घरका १००, रसुवाका ४ घरका १९ जना, सिन्धुपाल्चोकका ६ घरका ३० जना, दोलखामा एक घरका ७, रामेछापमा ३ घरका १० जना र सिन्धुलीमा १५ घरका ७५ जनालाई सुरक्षित स्थानान्तरण गरिएको छ ।
बाढी पहिरोका कारण मकवानपुरमा ३६ घर पूर्ण रुपमा क्षति भएका छन् भने चितवनमा २, नुवाकोटमा ४, रसुवामा ५, काभ्रेमा २३, सिन्धुपाल्चोकमा ५, दोलखामा २, रामेछापमा २०, सिन्धुलीमा एक गरी ९८ घर पूर्ण रूपमा क्षति भएको छ । नुवाकोटमा एक र सिन्धुलीमा २ घरमा बाढी पहिरोले आंशिक क्षति पुगेको छ ।
बाढीका कारण मकवानपुरमा एक पुल बगाएको छ भने सिन्धुपाल्चोकमा २ वटा सडक पुल, रामेछापमा ३ वटा सडक तथा पुल बगाएको छ भने मकवानपुरमा ५, धादिङमा ४, नुवाकोटमा १०, सिन्धुपाल्चोकमा ५ गरी २४ पशुचौपायाको मृत्यु भएको उक्त तथ्याङ्कमा उल्लेख गरीएको छ ।