काठमाण्डु, १३ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी वर्षापछि आएको बाढी र पहिरोमा फसेका जनताका उद्धार गर्न सरकार उदासीन भएको आरोप लगाएका छन ।
आज आइतबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भारी वर्षाको पूर्वानुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति आपत्ति जनाएका छन ।
उनले राजधानीमै उद्धारका लागि लामो समय प्रतीक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने पीडादायी अवस्था देखिनु जनताप्रति सरकारको चरम उदासीनता पुष्टि भएको आफ्नो विज्ञप्तिमा उल्लेख गरेका छन ।
अध्यक्ष प्रचण्डले ठुलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरूको खोजी गर्नु, घाइतेहरूको उपचार गर्नु, घरबारविहीन भएकाहरूलाई सुरक्षित गर्दै पुनर्स्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेभन्दै तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरूको निःशुल्क उपचार र विस्थापितहरूलाई पुनर्स्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका छन ।
बेपत्ता नागरिकको खोजी, बिस्थापितहरुको पुनर्स्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका कार्यमा निरन्तर लाग्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन ।