रास्वपाद्वारा राहत र उद्धारमा खटिन पार्टी पंक्तिलाई ८ बुँदे निर्देशन

काठमाण्डु टुडे २०८१ असोज १३ गते १०:३० मा प्रकाशित

काठमाण्डु, १३ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धारमा परिचालित हुन जिल्लाकार्यकर्तालाई निर्देशन दिएको छ ।

रास्वपाले राहत र उद्धारमा खटिन पार्टी पंक्तिलाई ८ बुँदे निर्देशन जारी गरेको हो ।

पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले जोखिममा परेका नागरिकको उद्धारमा सक्रिय हुन पार्टी पंक्तिलाई निर्देशन दिइएको बताए ।

रास्वाको केन्द्रीय सदस्य, संसदका सदस्य, प्रदेश, जिल्ला समिति तथा पार्टीको ¥याड टिमको संयुक्त बैठकले देशमा आपत परेका बेला आफ्नो लागि युनिफर्म खोजी गर्ने नभई जिम्मेवार नागरिकको रूपमा उद्धार कार्यमा लागी पर्न निर्देशन दिएको झाले उल्लेख गरे ।

रास्वपाले उद्धार कार्यमा संलग्न हुँदा आफ्नो सुरक्षालाई पनि ध्यान दिई, सम्बनिधत सुरक्षा निकायसँग समन्वय गरेर आफूले जानेको र सक्ने तवरले उद्धार कार्यमा लाग्न, सबै जिल्लामा भइरहेको समन्वय र सहयोगको कार्यबारे स्थानीय प्रशासनलाई जानकारी गराउन तथा आफूले गरिरहेको कामबारे सम्बन्धित निकायलाई सूचित गर्नेबाहेक अनावश्यक प्रचारबाजी नगर्न निर्देशन दिएको छ ।

यस्तै रास्वपाले उद्धार कार्यका नाममा कसैसँग राहत तथा पैसा उठाउने काम नगर्न र नगराउन, जोखिममा परेकाको उद्धारमा सहयोग गर्न र सरकार तथा प्रभावित क्षेत्रमा रहेकाबीच समन्वय गर्न केन्द्र र प्रदेशस्तरमा कल सेन्टर तथा नियमित रूपमा उपलब्ध महत्वपूर्ण सूचना सार्वजनिक गर्न पनि निर्देशन दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us