सरकारद्वारा बाढीपहिरोमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त

काठमाण्डु टुडे २०८१ असोज १२ गते २०:१५ मा प्रकाशित

काठमाण्डु, १२ असोज– कार्यबाहक प्रधानमन्त्री एवं उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह श्रेष्ठले बोलाएको आपतकालीन

समन्वयात्मक बैठकले विभिन निर्णयहरु गरेको छ । निरन्तरको भारी वर्षा र बाढीपहिरो, तथा डुवानका कारण भएको जनधनको क्षतिको मूल्यांकन तथा राहत र उद्धारबारे छलफल गर्न सिंहले शनिबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सरोकारवाला निकायको बैठक बोलाएका थिए ।

सिंहको अध्यक्षतामा बसेको बैठकले बाढी पहिरोका कारण अवरूद्ध देशभरका सडक तत्काल खुलाउने निर्णय गरेको छ । त्यसको समन्वय गर्ने जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दिइएको छ ।

बैठकको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बाढी पहिरोका कारण भएको नोक्सानीको मूल्याङ्कन तथा मृतकहरूलाई कानूनअनुसार तत्काल क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

बैठकले बाढीपहिरोको प्रकोपमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । शुक्रबार साँझसम्म संकलन गरिएको तथ्याङ्कअनुसार उपत्यकासहित विभिन्न जिल्लामा बाढीपहिरोमा परी ६६ जनाको मृत्यु भएको छ । ७९ जना बेपत्ता छन् ।

बैठकले सबै घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । यस्तै हाल जारी भएका सबै परीक्षा स्थगित गर्ने निर्णय पनि बैठकले गरेको छ । अवरूद्ध टेलिफोन तथा बिजुली तथा खानेपानी आपूर्ति सुचारू गर्न पहल गर्ने निर्णयसमेत भएको गुरुङले बताए ।

समस्यामा रहेका नागरिकहरूलाई प्रधानमन्त्री कार्यालयको हट लाइन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र गृहमन्त्रालयको हट लाइनमा सम्पर्क गरी राहत तथा उद्धारका लागि अनुरोध गर्न पनि बैठकले अपिल गरेको छ ।

उद्धारका लागि सबै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन बैठकले निर्देशन दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us