
सिन्धुली, १२ असोज– निरन्तरको भारी वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले सिन्धुलीको खुर्कोटमा रहेको पक्कीपुल नै बगाएको छ ।
खुर्कोट बजार र रामेछाम जोड्ने पक्की पुल नदीले बगाएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए ।
उनका अनुसार नदीले खाङसाङ र खोल्मेमा रहेका दुईवटा झोलुङ्गे पुल पनि बगाएको छ ।
तीनवटा पुल बगाएका कारण रामेछाम र दोलखाको राजधानीसँगको सम्पर्क टुटेको छ । सुनकोशी नदी बस्तीमा पस्दा खुर्कोट, मुलकोट, थङसाङ र दुम्जा बजार क्षेत्र डुबानमा परेको छ ।
वर्षातका कारण जिल्लामा विद्युत आपूर्ति बन्द भएको छ भने टेलिफोन सेवा पनि अवरुद्ध भएको छ ।