काठमाण्डु, १२ असोज– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढीपहिरोमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने भएको छ ।
मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई घाइतेको उपचार निःशुल्क गर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपत्काल तथा विपद् व्यवस्थापन युनिट प्रमुख डा. प्रकाश बुढाथोकीले शनिबार एक विज्ञप्ति जारी गर्दै घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिइएको बताए ।
मन्त्रालयले सातवटै प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रहरूलाई आपतकालीन अवस्थामा स्वास्थ्यसम्बन्धी समस्याबारेमा जानकारी प्रदान गर्न हटलाईन नम्बर सार्वजनिक गर्न निर्देशन दिएको छ ।
यस्तै प्रदेश, जिल्ला र स्थानीयतहका द्रूत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा रहन भनिएको छ । स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४ सै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।
प्राकृतिक विपद्का बेला पानी प्रदूषित भई निम्त्याउन सक्ने पानीजन्य रोगहरू झाडापखाला, हैजा, आदि तथा कीटजन्य रोगहरू डेंगी, मलेरिया पनि बढ्न सक्ने हुनाले सबै सरोकारवालाले सोबारेमा सतर्कता अपनाउन र लक्षण देखिए तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न विज्ञप्तिमार्फत मन्त्रालयले अपिल गरेको छ ।