काठमाण्डु, १२ असोज– निरन्तरको भारी वर्षासँगै गएको बाढीपहिरो र बुडानका कारण देशभर ६० जनाको मृत्यु भएको छ ।
उद्धारमा सक्रिय सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले देशभर ६० जनाको मृत्यु भएको जानकारी दिए ।
थापाका अनुसार उपत्यकाका काठमाण्डु, ललितपुर र भक्तपुरमा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जनाको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार बाढीपहिरोमा परी अरु ३४ जना घाइते भएका छन् । यस्तै ६४ जना बेपत्ता छन् । सशस्त्र प्रहरीका अनुसार २ हजार १ सय ३ जनाको उद्धार गरिएको छ ।
कोसी प्रदेशमा १ सय ५२, मधेशमा १०, उपत्यकामा २ र बागमती प्रदेशमा ३१ गरी कूल १ सय ९५ घरमा क्षति पुगेको छ । सशस्त्र प्रहरीले उद्दारका लागि उपत्यकामा २३ वटा डुंगा र गोताखोरसहितको टोली ९० स्थानमा परिचालन गरेको छ ।
यस्तै नेपाली सेना र नेपाल प्रहरीले पनि उद्धारका लागि ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ । सेनाले हेलिकोप्टरमार्फत कुसुन्ती ललितपुरका फरकफरक स्थानमा बाढीमा फसेका ९ जनाको सकुशल उद्धार गरेको थियो ।