गृहमन्त्रीले बचाउन सकिएन भनेका बाबुछोरीलाई बगिरहेका बेला जीवन दान दिने चाणिकलाल को हुन् ?

काठमाण्डु टुडे २०८१ असोज १२ गते १८:३१ मा प्रकाशित

काठमाण्डु, १२ असोज– काभ्रे तेमाल गाउँपालिका–९ का चाणिकलाल तामाङ राजधानीमा पेन्टरको काम गर्छन् ।

३३ वर्षीय तामाङ ललितपुर महानगरपालिका–२५ सुगम बस्ती नख्खुडोलमा डेरा गरी बस्छन् । निरन्तरको वर्षातपछिको बाढी र डुबानका कारण शनिबार उनी काममा गएनन् । अरुजस्तै उनी पनि नख्खु खोलामा आएको बाढी हेर्न निस्किए ।

खोला किनारमा रहेको टहरो हेर्दाहेर्दा बाढीले बगायो । टहरोमा केही घण्टादेखि ज्यान बचाइदिन याचना गर्दै दुई बालिका र दुई पुरुष अनुनय बिनय गरिरहेका थिए ।

उद्धारमा ढिलाई हुँदा उनीहरु सबै बाढीमा हेलिए । बाढीको बबण्डर हेर्न निस्किएका चाणिकलालको आँखा एउटा नमिठो दृष्यमा ठोक्कियो । एक जना पुरुष आफ्नी बालिका छोरीलाई च्याप्प अँठ्याएर बाढीमा बगिरहेका थिए । ती पुरुषले बचाउ, बचाउ भन्दै गुहार गरेको आवाज चाणिकलालको कानमा ठोक्कियो । उनले किञ्चित ढिला गरेनन् । बाढीमा हामफाले र बाबुछोरीलाई सकुशल बाढीबाट बाहिर निकाले । माणिकलालले ततकाल बाबुछोरीलाई उत्तानो पारेर भुइँमा राखे र पालैपालो दुवैको पेट थिचेर पानी छदाए । बाबुछोरी थिए रौतहट घर भई हाल सुगम बस्ती टोल बस्दै आएका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघना ।

जब राजु होसमा आए तब अर्की छोरी ४ वर्षीया सेर्तु पनि बगेकाले बचाइदिन हारगुहार गरे । सँगै टहरोबाट बगेका राजुका भाई २२ वर्षीय राज साह भने आफैं पौडिएर ज्यान गोजाउन सफल भए । टोल सुधार समिति अध्यक्ष पूर्ण केसीले चाणिकलालको साहसले दुई जनाको ज्यान बचेको बताए । केसीका अनुसार साह बाबुछोरी तीन सय मिटर तल बगिसकेका थिए ।

केसीका अनुसार साहको परिवार ग्रिल कारखाना र कवाडीका सामान राख्ने टहरोमा बस्दै आएको थियो । बाढीले टहरो बगाउन खोजेपछि उनीहरु ज्यान बचाउन टहरोमाथि उक्लिएका बेला बगाएको थियो । उद्धार गरिएपछि उनीहरुलाई नेपा प्रहरीका अवकाशप्राप्त डिआईजी अशोक सिंहले आफ्नै गाडीमा राखेर पाटन अस्पताल लगेका थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले पनि नख्खुबाट बगेका चारमध्ये तीन जनाको उद्धार भएको पुष्टि गरे । हराएकी बालिकाका खोजी जारी रहेको उनको भनाइ थियो । गृहमन्त्री रमेश लेखकले भने नख्खुबाट बगेका चार जनालाई बचाउन नसकेकामा क्षमा मागेका थिए ।
गृहमन्त्रीेले भनेका थिए बचाउन सकिए, दुःखी छौं
सिंहदरबारस्थित गृह मन्त्रालयमा आफैंले बोलाएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट बैठकपछि प्रतिक्रिया दिँदै प्रहरीले बचाउन नसकेको र तत्काल हेलिकोप्टर पठाउन नसकिएकामा दुःख लागेको बताए ।

‘टहराको छतमा बसेको अवस्थामा कोसिस गर्दागर्दै पनि बचाउन सकेनौं’, लेखकले भनेका थिए, ‘ भिजिबिलिटी काम भएका कारण हेलिकप्टरमार्फत् पनि उद्धार गर्न सकिएन ।’

गृहमन्त्रीसँग यति पनि सूचना थिएन कि उनले त्यसो भनिरहँदा चाणिकलालले बाढीमा बगेकाहरुको उद्धार गरिसकेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us