नख्खुबाट बाढीले बगाएका चारमध्ये तीन जनाको जिवीतै उद्धार, चाणिकलाले बचाए ज्यान

काठमाण्डु टुडे २०८१ असोज १२ गते १६:४३ मा प्रकाशित

काठमाण्डु, १२ असोज– ललितपुरको नख्खु खोलाले बगाएका चारमध्ये तीन जनाको जिवितै उद्धार भएको छ ।

ललितपुरको महानगरपालिका–२५ सुगम बस्ती नख्खुडोलस्थित एक टहरोको छतमा बसेका बेला उनीहरुलाई बाढीले बगाएको थियो ।

उद्धारका लागि रोइकराई गराउँदा गराउँदै उनीहरुलाई बगाएको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । दुई जनालाई काभ्रेको तेमाल गाउँपालिका–९ का चणिकलाल तामाङले उद्धार गरेका थिए ।

बाबुछोरी सँगै बगेका थिए । राजुले छोरीलाई समतेर बग्दै गरेको देखेपछि तामाङले खोलामा हाम फालेर उनीहरुलाई बाहिर निकालेका हुन् ।

एक जनाले भने पौडिएर ज्यान बचाएका छन् । एक जनाको अवस्था भने अज्ञात छ । उनीहरु तीनै जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

ललितपुर प्रहरीका अनुसार रौतहट घर भई सुगम बस्तीमा बस्दै आएका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई चणिकलालले उद्धार गरेका हुन् ।

राजुका भाइ २२ वर्षीय राज साहले पौडिएर ज्यान बचाए । राजुकी छोरी ४ वर्षीया सेर्तुको अवस्था अज्ञात छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us