चितवन, १२ असोज– नारायणी नदीमा जलसहत इतिहासकै सर्वाधिक उच्च भएको छ ।
निरन्तरको भारी वर्षासँगै नारायणीमा हालसम्मकै ठूलो बाढी आएको हो । जलमापन केन्द्र देवघाटमा शनिबार बिहान पानीको सतह ११ मिटर ३५ सेन्टिमिटर मापन गरिएको थियो ।
हालसम्म नदीको सतह यो बिन्दुमा पुगेको पहिलोपटक भएको केन्द्रले जनाएको छ । यसअघि गत २२ असारमा नारायणीमा जल सतह अ १० मिटर ४६ सेन्टिमिटर पुगेको थियो ।
नारायणगढ बजारका स्थानीय के एल भुषणले ०१८ सालयता आफूलाई नारायणीमा यति ठूलो बाढी आएको थाहा नभएको बताउँछन् ।
नारायणी नदीमा जल सतह ९ मिटर बढी हुनुलाई खतराको तह पार गरेको मानिन्छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अपिल गरिएको बताए ।
उनले अप्रिय घटना भएको अवस्थामा उद्धारका लागि जिल्लास्थित विपद व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए ।
।