काठमाण्डु, ११ असोज– एमालेले नजिकिएको चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको छ । नेकपा एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई विभिन्न विषयमा चार बुँदे ध्यानाकर्षणपत्र बुझाएको एमालेका एक नेताले जानकारी दिएका छन ।
आज शुक्रबार विभाग प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर दसैँ, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडपर्व जनताले धूमधामसँग मनाउने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
एमालेले सडक, यातायात, होटलको खानालगायत सुरक्षाका विषय भरपर्दो बनाउन सरकारको ध्यानाकर्षण गरिएको भट्टराईले जानकारी दिएका छन ।
साथै उनले चाडपर्वका समयमा हुनसक्ने अवाञ्छित क्रियाकलापहरू (अत्यधिक मदिरासेवन, जुवा तास, पटाका, आतिसवाजी) रोक्न स्थानीय प्रशासनहरूको प्रभावकारी परिचालन गर्न पनि सरकारलाई अनुरोध समेत गरेको छ ।
ध्यानाकर्षणपत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ध्यानाकर्षण गराएर सरकारलाई घच्घच्याउने प्रयास सकारात्मक रहेको बताएका छन । उनले चाडपर्वका अवसरमा सरकारले नागरिकलाई दिनुपर्ने सेवामा कुनै कमी हुन नदिने आश्वासन समेत दिएका छन ।