पूर्व डिआईजी जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति

काठमाण्डु टुडे २०८१ असोज ११ गते १५:५६ मा प्रकाशित

काठमाण्डु, ११ असोज– आदालतले सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ ।

गत ६ असोजमा काठमाण्डुको शंखमुलमा पक्राउ परेका जोशीलाई सोही दिन पोखरा ल्याइएको थियो । ७ गते अदालतमा उपस्थित गराइएका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

प्रहरीले अझै १० दिन म्याद थपका लागि जिल्ला अदालत कास्कीमा माग गरेको थियो । अदालतले ७ दिन म्याद थप गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिएका छन ।

प्रहरी हिरासतमा राखेर जोशीसँग लिइएको बयानमा गितेन्द्रबाबु (जीबी) राइको नेतृत्वमा पोखरामा खुलेको सूर्दर्शन सहकारीमा आफ्नो खाता, हस्ताक्षर नभएको र आफूले त्यो सहकारी देख्दा पनि नदेखेको बयान दिएका छन् ।

तर, जोशीले गोर्खा मिडियामा आफू गलत मान्छेको फन्दामा परेको वयान दिएका छन् । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिले समेत कारबाही गर्न सिफारिस गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us