आज र भोलि सातै प्रदेशमा भारी वर्षा

काठमाण्डु टुडे २०८१ असोज ११ गते ७:११ मा प्रकाशित

काठमाण्डु, ११ असोज-  मनसुनी वायुको प्रभावका कारण देशभर वर्षात भइरहेको छ ।

भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको यमेत प्रभावका तारण वर्षात भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि सातवटै प्रदेशमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।।

शनिबार पनि देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र  कर्णाली  प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।।

शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा हुने प्रक्षेपण समेत गरिएको छ।

शुक्रबार राति  देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।साथै  बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा  धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका तराई भू-भागका केही स्थानहरूमा राति पनि हावा हुरीको समेत सम्भावना रहेको महाशाखाको अनुमान छ ।

भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रहरूमा डुबानको  जोखिम, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने जोखिम तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जन-जीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us