जनयुद्धलाई होच्याउने क्रम जारी रहे नराम्रो परिस्थिति आउन सक्छः माओवादी

काठमाण्डु टुडे २०८१ भदौ २६ गते १४:५४ मा प्रकाशित

Screenshot

काठमाण्डु, २६ भदौ– प्रमुख प्रतिपाक्षी दल माओवादी केन्द्रले जनयुद्धलाई होच्याउने काम भएको भन्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

गत १२ भदौको बैठकमा एमाले सांसद योगेश भट्टराईले हिंसा शब्द प्रयोग गरेकामा माओवादी सांसदले असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट माग गर्दै आएका थिए । सभामुख घिमिरिले उक्त शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउनु नपर्ने बताए ।

लगत्तै माओवादी सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए । पाण्डेले संविधानले नै माओवादी जनयुद्ध र जनआन्दोलनलाई स्वीकार गरेको भन्दै संविधानमा प्रयोग नभएको हिंसा शब्द संसदमा प्रयोग गर्न नपाइने तर्क गरे । ‘संविधान मुल कानून हो ।

संविधानमा नै जनयुद्ध, जनआन्दोलन लगायतको व्याख्या गरिएको छ र संविधानको प्रस्तावनामै जसरी व्याख्या गरिएको छ’, पाण्डेले भने, ‘हिंसाको जो विषवस्तु आएको छ, यो संविधानविपरीत छ, कानूनविपरीत छ । यस्तो किसिमको शब्द हुनुहुँदेन भनेर हामीले बारम्बार कुरा गरेका छौं । के संविधानभन्दा यहाँ प्रयोग हुने शब्द फरक हुनुपर्ने हो ? यसैले म फेरि पनि सचिवालयलाई संविधान, कानूनलाई हेरेर आफ्ना विषयवस्तु र निर्णयलाई अगाडि बढाउन आग्रह गर्न चाहन्छु ।’

पाण्डेले एमाले सांसद् भट्टराईले नियतबस माओवादी आन्दोलनलाई होच्याउने गरेर तथा जनमुक्ति सेना, शहीद र घाइते–अपांगहरुलाई होच्याउने गरेर अममानजनक अभिव्यक्ति दिएको बताए । यत्रा दिनसम्म १२ गते विषय उठेपछि लामो समय लिएर यो शब्दको बारेमा आएको व्याख्याको आफ्नो दलले विरोध गर्ने उनले बताए ।

संविधानभन्दा माथि कोही पनि हुन नसक्ने भन्दै पाण्डेले संविधान, शान्ति प्रक्रिया, कानूनविपरीतका शब्दहरु प्रयोग गर्दै जाने हो भने परिस्थितिलाई कता लैजान्छ भन्नेबारे भन्न नसकिने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us