कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

काठमाण्डु टुडे २०८१ भदौ २६ गते १२:२४ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– सत्ताको प्रमुख घटक कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । आज बुधबार बिहान बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले उपसभामुख इन्दिरा रानामगरले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा माग गरेको हो ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठकपछि यस्तो निर्णय भएको जानकारी दिए । उनले भने, ‘हाम्रो चाहना के हो भने सबै प्रक्रियामा जानुभन्दा उहाँले बहिर्गमनको बाटो रोज्नु राम्रो हुन्छ ।’

उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् । २०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र केही समय अघि सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भए लगत्तै उपसभामुख गम्भिर विवादमा परेकी छिन् । बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकपछि प्रमुख सचेतक घिमिरेले उपसभामुख रानामगरमाथि उठेको विषय सामान्य नभएको बताए ।

‘यो चानचुन विषय होइन । उपसभामुखले गर्नै नहुने काम गर्नुभएको छ,’ घिमिरेले भने, ‘उहाँले सिफारिस गर्नै मिल्दैन, परराष्ट्र मार्फत भएर जानुपर्ने कुरा आफैंले लेख्नुभएको छ । संसदलाई नै अपमानित गरेको छ भन्ने हाम्रो बुझाइ छ ।’

उनलाई पदबाट हटाउने गरी सत्ता गठबन्धनले तयारी गरेको छ । कांग्रेसको शीर्ष तहको बैठकले उपसभामुखलाई हटाउनका लागि थप छलफल सत्ता गठबन्धनमा गर्ने निर्णय लिएको उनले जानकारी दिए । सोही विषयमा छलफल गर्न कांग्रेसको संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us