काठमाण्डु, २२ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा आलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबिचका समस्या सहजै समाधान गर्न सकिने बताएका छन । आज शनिबार जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन ः नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
उनले नेपाल–भारतबिचमा धेरै नभए पनि केही समस्याहरू रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबिचको सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) गठन गरिएको पनि बताएका छन । उनले भने, ‘ईपीजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन । नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन ।
भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लाग्या छ । प्रतिवेदन बुझेपछि दुवै मुलुकका बिचमा थाँती रहेका विषयमा छलफल गर्न सहज हुन्छ । भारत लामो संस्कृति भएको छिमेकी मित्र हो । हामीले खुल्ला खुलस्तरुपमा छिमेकीसँग कुरा गर्नुपर्छ । खुल्ला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्न मिल्दैन ।
सत्ता प्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुख बन्द गर्ने वा टाउको हल्लाउने काम हामीले गर्नुहुँदैन ।’ उनले भूराजनीति शब्दलाई आफ्ना स्वार्थी कामको ढाकछोप गर्न वा कायरपन प्रदर्शनका लागि प्रयोग गर्न नहुने तर्क राख्दै प्रधानमन्त्री ओलीले विदेशमा बसेर आफ्नो देशका प्रमुखलाई विरोध संस्कृति नेपाली संस्कृति नभएको पनि बताएका छन ।