काठमाण्डु, २२ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवाद कोरा र सङ्कीर्ण हुन नहुने बताएका छन । आज शनिबार काठमाण्डुमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
उनले आफ्नो मात्रै राष्ट्रलाई फाइदा होस र अर्कोलाई जस्तोसुकै होस भन्ने राष्ट्रवाद हुन नहुने पनि बताएका छन । प्रधानमन्त्री ओलीले भने, ‘कवि शिरोमणिले भनेझैँ मैँ खाऊँ, मै लाऊँ अरू सब मरुन् दुर्बलहरू भन्ने किसिमको राष्ट्रवाद हुनुहुँदैन ।
राष्ट्रवाद भन्ने बित्तिकै त्यहाँ न्याय चाहिन्छ । न्याय सहितको राष्ट्रवाद हुनुपर्दछ । अन्तर्राष्ट्रिय दायित्व सहितको राष्ट्रवाद हुनुपर्छ ।’ उनले अरू पनि राष्ट्र छन्, अरू पनि जिउँदै छन्, अरूका पनि भावना छन् भन्ने नबुझ्ने हो भने त्यो राष्ट्रवाद सङ्कीर्ण राष्ट्रवाद हुने र त्यस अन्यायपूर्ण राष्ट्रवाद मानिने बताए । ओलीले समानताको आधारमा राष्ट्रवाद हुनुपर्ने नेपाली भावना रहेको पनि बताएका छन ।