चेपाङ समुदायले छोनाम पर्व मनाउँदै

काठमाण्डु टुडे २०८१ भदौ २२ गते ९:४५ मा प्रकाशित

चितवन, २२ भदौ- आज चेपाङ समुदायले छोनाम न्वागी पर्व मनाउँदै छन् । चेपाङ समुदायमा यो पर्वलाइ राष्ट्रिय धार्मिक पर्वका रूपमा हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन रहेको छ । यस पर्वलाइ विगत वर्षहरुमा जस्तै यसपाली पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागेका छौं नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए ।

यो वर्ष गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भई नाचगानगरी पर्व मनाउन लागेका छौं गत वर्ष धादिङ गजुरी गाउँपालिका–५ च्याङ्लीमा सामूहिक रुपमा भेला भएर न्वागी मनाइएको थियो अध्यक्ष चेपाङले बताए ।

चेपाङ समुदायको बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष भदौ २२ गते न्वागी पर्वलाइ राष्ट्रिय पर्वको रुपमा मनाउने गरेका छौं । चेपाङ सङ्घको पहलमा विसं २०६३ सालदेखि सामूहिक रूपमा उत्सवकै रुपमा मनाउँदै आइएको हो अध्यक्ष चेपाङले बताए ।
भदौ २२ गते सामूहिक रुपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ ।चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यता छ । आजकै दिनबाट चेपाङ समुदायले नयाँ अन्न खान सुरु गर्ने दिनका रुपमा पनि लिइन्छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । यसैबीच मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको अध्यक्ष चेपाङले बताए ।

यो राष्ट्रिय पर्वको अवसरमा विसं २०७९ देखि बागमती प्रदेश सरकारले चितवन मकवानपुर र धादिङगरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us