आज गणेशको जन्मदिन, गणेश चथुर्ती मनाइँदै

काठमाण्डु टुडे २०८१ भदौ २२ गते ८:२४ मा प्रकाशित

काठमाण्डु, २२ भदौ– भगवान् गणेशको पूजाआराधना गरी आज गणेश चतुर्थी पर्व मनाइँदै छ ।

अग्रपूजाको अधिकार प्राप्त गरेका गणेशलाई बिघ्नहर्ता मानिन्छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाउने गरिएको छ । नेवार समुदायले भने चथा नाममा यो पर्व मनाउँने गरेको छ ।
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । गणेश चतुर्थीका अवसरमा उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ ।

आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

बिहान तीजको व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजाआराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रमा उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us