बाबुरामसँग ओलीको गुनासोः प्रचण्डको उदण्डताले सीमा नाघ्यो

काठमाण्डु टुडे २०८१ भदौ २१ गते १९:४४ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– प्रधानमन्त्री केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उदण्डताले सीमा नाघेको टिप्पणी गरेका छन् ।

संक्रमणकालीन न्याय टुंगो लगाउने विषयमा शुक्रबार ज्ञापनपत्र बुझाउन गएका पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसँग ओलीले प्रचण्डले उदण्डता प्रदर्शन गर्दैं हिंडेको गुनासो गरेका हुन् ।

प्रचण्डको बोली व्यवहारले सँगै बसेर कुरा गर्ने अवस्थासमेत नरहेको ओलीको भनाइ थियो ।

‘तीनतीनपटक प्रधानमन्त्री भएको व्यक्तिबाट यो हदसम्मको उदण्डता प्रदर्शन होला भन्ने सोचेको थिइनँ’, ओलीको भनाइ उद्धृत गर्दै भट्टराईसँगै ज्ञापनपत्र बुझाउन गएका नेसपा नेता कृष्ण शर्माले भने, ‘उहाँसँग सँगै बसेर कुरा गर्ने अवस्था अब रहेन ।’

ओलीले प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्गोमा पुर्याउनसमेत नचअहेको आरोप लगाए । भेटमा ओलीले आफू द्वन्द्वका घटनामा प्रत्यक्ष संलग्न नरहेकाले तत्कालीन राज्य वा विद्रोही दुवैको पक्ष र विपक्षमा नलागी संक्रमणकालीन न्यायका विषयमा निष्पक्ष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us