काठमाण्डु, २१ भदौ– काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले लेखेको फेसबुक पोस्ट फेसबुकले फिर्ता गरिदिएको छ । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै उनले लेखेको घरेलु बाल श्रम सम्बन्धी स्टाटसलाई फेसबुकले कम्युनिटी गाइडलाइन उल्लंघन भएकाले तीन दिनअघि हटाएको थियो ।
यद्यपि फेसबुकले आधिकारिक रुपमा केही उल्लेख गरेको भने थिएन । साहले आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध आपति व्यक्त गरेका थिए ।
त्यसपछि साहका केही निकटस्थ र समर्थकले प्रधानमन्त्री ओलीको फेसबुक पेजमा अनफलो अभियान सुरु गरेका थिए । सरकारले भने त्यो पोस्ट आफूले नहटाएको, बरु साह आफैंले हटाएको बताउँदै आएको थियो ।
ओली र साह दुवैले यसबारे औपचारिक रुपमा केही नभने पनि एमाले पार्टी पंक्ति र साहका समर्थकबीच फेसबुकमा आरोप प्रत्यारोप नै चलेको थियो ।