तौलको सन्तुलन नमिल्दा सौर्यको जहाज दुर्घटना

काठमाण्डु टुडे २०८१ भदौ २१ गते १५:५४ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे अध्ययन गर्न बनेको समितिले विमानमा भएको तौलको सन्तुलन नमिलेर दुर्घटना भएको प्रारम्भिक प्रतिवेदन तयार गरेको छ ।

तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरीएको छ । मर्मतका लागि राखिएका सामग्री जहाजमा नबाँधेर राखेको, सबैतिर तौलको सन्तुलन नमिलाएका कारण जहाजले टेकअफ गर्न साथ सामान सरेर सन्तुलन बिग्रिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।

जहाजको इन्जिनमा कुनै खराबी नदेखिएको प्रतिवेदनमा उल्लेख गरीएको छ । ब्यागेजसहित १८,१३२ किलो तौलसहित जहाजले टेकअफ गरेको थियो । जसमा थप २००० किलो इन्धन रहेको थियो । ‘टेकअफ वेट’लाई तोकिएको जहाजको गति (भी स्पिड) नै गलत दिइएको निष्कर्ष अध्ययनको छ ।

मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको प्रतिवेदनमा उल्लेख गरीएको छ  । समितिले प्रारम्भिक रूपमा पाँचवटा विषय अनुसन्धानका लागि तय गरेको थियो । जहाजको तौल र सन्तुलन, टेकअफ गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र सेफ्टी म्यानेजमेन्ट प्रणालीका विषय पहिचान गरेको छ ।

प्रतिवेदनमा उडानअघि जहाज ३४ दिनसम्म ग्राउण्डेड गरिएको उल्लेख छ । सम्पूर्ण मर्मत अर्थात् ‘सी–चेक’का लागि साउन ८ गते पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको ९ एन–एनएएमई कलसाइन नम्बरको सिआरजे–२०० जहाज टेकअफ गर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर १८ जनाको ज्यान गएको थियो ।

जसमा सौर्य एयरलाइन्सका प्राविधिक तथा कर्मचारी, एक बालक र तीन जना चालक दलका सदस्य गरेर १९ जना सवार थिए । दुर्घटनामा परेका पाइलटको घाइते अवस्थामा उद्धार गरिएको थियो ।

उनी उपचारपछि घर फर्किसकेका छन् । दुर्घटना अध्ययनका लागि सरकारले रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us