काठमाण्डु, २१ भदौ– लोकतान्त्रिक समाजवादी पार्टीले ०८२ को वैशाख २६ गते पार्टीको पहिलो अधिवेशन गर्ने भएको छ । दुई दिनसम्म चलेको पदाधिकारीको बैठकले सो निर्णय गरेको लोसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिएका छन ।
महाधिवेशनको मिति तोकिसकेपछि केन्द्रीय समितिलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गर्ने निर्णय समेत गरेको उनले जानकारी दिएका छन ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा तीन वर्षअघि लोसपा गठन भएको थियो । पार्टीको अन्तरिम विधान अनुसार पाँच वर्षभित्र महाधिवेशन गरिसक्नु पर्नेछ ।
सोही विधान अनुसार आउने वैशाखमा महाधिवेशनको मिति तय भएको लोसपाले जनाएको छ । महाधिवेशनअघि पार्टीका सम्पूर्ण तहको अधिवेशन सम्पन्न गरिसक्नुपर्ने पनि निर्णय भएको लोसपाका महासचिव डा.सुरेन्द्र झाले जानकारी दिएका छन ।
कात्तिक मसान्तसम्म सदस्यता वितरणको काम सकाएर चैत मसान्तभित्र वडादेखि प्रदेशसम्मका सम्पूर्ण समितिको साधारण सभा गरिसक्नुपर्ने बैठकले निर्णय गरेको उनले जानकारी दिएका छन ।
त्यसका साथै पार्टीका अन्य घटक, विभाग, भातृ संगठन, समितिलगायतलाई पूर्णता दिइने निर्णय भएको उनले बताए । लोसपाले संविधान संशोधनको लागि विगतमा उठाइएका मधेसका सबै मुद्दाहरूको संकलन गर्दै मधेसी, थारु र अन्य उत्पीडित जनताको अधिकार कायम गराउन सरोकारवाला सबै दलसँग सहकार्यको अपिल गरेको छ ।