काठमाण्डु, २१ भदौ– गृह मन्त्रालयको सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले प्रप्त गरेका छन । हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको स्रोतले जानकारी दिएको छ ।
यसअघिका गृहसचिव एकनारायण अर्याल भदौ १४ मा मुख्यसचिव नियुक्त भएका थिए । नवनियुक्त गृहसचिव दुवाडी राष्ट्रिय तथ्याङ्क कार्यालयमा कार्यरत रहेका थिए ।
राष्ट्रपतिको कार्यालयमा कार्यरत नारायण प्रसाद शर्मा दुवाडी पनि गृह मन्त्रालयमा आउने दौडमा रहेका थिए । बिहीबारको मन्त्रिपरिषदमा गृहमन्त्री रमेश लेखक ढिला पुगे ।
उनी ढिला भएका कारण मन्त्रिपरिषद् बैठकमा त्यसबारे छलफल नभए पनि प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा गृहसचिवबारे निर्णय गर्ने भनिएको थियो ।
बिहीबारकै बैठकको निर्णयमा उल्लेख गर्ने गरी शुक्रवार गृह सचिवबारे निर्णय गरिएको प्रधानमन्त्री कार्यालयका एक जना उच्च अधिकृतले जानकारी दिएका छन ।