निर्वाचन आयोगको निर्णयविरुद्ध नेसपा यादव समूह सर्वोच्च अदालतमा

काठमाण्डु टुडे २०८१ भदौ २१ गते १५:३५ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्र राय यादव समूह पार्टी विवादसम्बन्धी निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुगेका छन । नेसपा यादव समूहका महासचिव रमेशप्रसाद यादवले शुक्रबार सर्वोच्चमा आयोगविरुद्ध मुद्दा दर्ता गराएका छन । अदालतले यादवको रिट निवेदन दर्ता गर्दै आइतबार सुनुवाइका लागि बोलाएको छ ।

गएको चैत ५ गते अर्का अध्यक्ष डा.बाबुराम भट्टराईले एकलौटी ढङ्गले केन्द्रीय समिति भङ्ग गरी आयोजक समिति बनाएको, पदाधिकारीलाई जिम्मेवारीबाट हटाएको, नेताहरूको सही कृते गरी अद्यावधिका लागि निर्वाचन आयोगमा दर्ता गरेको जस्ता आरोप लगाएर महासचिव यादवले असार १३ गते आयोगमा उजुरी दिएका थिए ।

उजुरीमाथि छानबिन गरी आयोगले भदौ १६ गते राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ र ४४ बमोजिमको विवाद नदेखिएको हुँदा विवाद निरूपणको कार्यविधिभित्र प्रवेश गरी राख्नु नपर्ने ब्यहोराको जानकारी निवेदकलाई दिएको थियो । सोही निर्णयमा चित्त नबुझाएर आफू न्यायका लागि अदालत गएको महासचिव यादवले जानकारी दिएका छन ।

चैत ३ गते अध्यक्ष बाबुरामलाई बाइपास गरी यादव समूहले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेपछि नेसपाले केन्द्रीय समिति भङ्ग गरी महाधिवेशन आयोजक समिति घोषणा गरेको थियो । यादव समूहका नेताहरूलाई पदमुक्त गरी अद्यावधिका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us